लुम्बिनी एसियाकै उत्कृष्ट १० पर्यटकिय गन्तव्यमा

लुम्बिनी एसियाकै उत्कृष्ट १० पर्यटकिय गन्तव्यमा


काठमाडौ‌ – संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सार्वजनिक गरेको आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ को जुलाई महिनासम्मका लागि ती गन्तव्यको सूची तयार पारिएको छ ।

यो सूचीको पहिलो स्थानमा दक्षिण कोरियाको बुसान परेको छ भने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा परेको हो ।एसियाका ती गन्तव्य घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ।

लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल पर्नुलाई यस क्षेत्रका विज्ञहरूले ठूलो उपलब्धि मानेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले यसबाट नेपालमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ।

बोर्डले पर्यटन प्रवद्र्धनका लागि लोन्ली प्लानेटसँग साझेदारी गर्ने योजना बनाएको छ ।पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि थप अकासिएको छ।

नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको सूचीले बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ।पर्यटन क्षेत्रका विज्ञहरुले यसलाई ठूलो उपलव्धी मानेका छन्।