लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित


दाङ – लुम्बिनी प्रदेश सरकारले पेश गरेको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

प्रदेश सभाको चौथो अधिवेशनको २३औं बैठकले प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको छ ।

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशसभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । बजेटमाथि सोमबार, मंगलबार र बुधबार ३ दिन लगातार छलफल भएको थियो ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात् ८ दशमलव ०६ प्रतिशत हुने अनुमान छ ।