लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


काठमाण्डु-लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीदे नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् ।

शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो । यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट मन्त्री नियुक्त भएका तिमिल्सिना पहिलो चरणमै मन्त्री बन्ने सुचीमा थिए । तर उनलाई अन्तिम समयमा शपथ खुवाइएको थिएन ।

प्रदेशमा अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ । यो मन्त्रालय साना दललाई दिने तयारी मुख्यमन्त्रीको छ । तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा मुख्यमन्त्री अनिर्णित छन् ।