काठमाडौं– गृहमन्त्रालयले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ।
गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले निर्वाचनको सुरक्षाका लागि ६० हजार सुरक्षाकर्मी परिचालन गरिने बताए। ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान परिचालन भइसकेको छ,’ प्रवक्ता सुवेदीले भने, ‘मतदानको दिन ६० हजार सुरक्षाकर्मी परिचालन गरिने छ।’
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ। राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिएको छ।
नेपाली सेनाका प्रवक्ता झंकर कडायतका अनुसार मधेसमा १५ हजार सेना परिचालन गरिएको छ। साथै चार हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
निर्वाचनको सुरक्षाका लागि केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ।
सरकारले प्रदेश २ को चुनावमा सीके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिएको छ। सोही अनुरुप सुरक्षाकर्मीले उनीहरुलाई निगरानीमा राखेका छन्।
यद्यपी, प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको दाबी गरे।
निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबारराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ।
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन गरिएको छ।
८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ।२ नम्बर प्रदेशमा २६ लाख ९ सय ५० मतदाता रहेका छन्। तीन हजार ५ सय ७८ मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया