प्रचण्डपछि १ वर्षमा माधव नेपाल प्रधानमन्त्री बन्छन् : नेता पाण्डे

प्रचण्डपछि १ वर्षमा माधव नेपाल प्रधानमन्त्री बन्छन् : नेता पाण्डे


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको १ वर्षमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

आज शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले २०७९ पुस १० गते भंग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

उनले ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ लागू हुने र अबको १ वर्षमा माधव नेपाल प्रधानमन्त्री भइछाड्ने बताए ।

उनले भने, ‘यसमा कुनै द्विविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्‍यौं । पहिलो कार्यकाल नेकपा माओवादीले २ वर्ष, त्यसपछि नेकपा एकीकृत समाजवादीले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । उनले भने, ‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको ४ वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ ।’

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही अविश्वास पैदा भएको उनले बताए । कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ ।