जहाँबाट पहिलो निम्तो आउँछ उतै भ्रमण गर्ने हो : नेपाल

जहाँबाट पहिलो निम्तो आउँछ उतै भ्रमण गर्ने हो : नेपाल


काठमाण्डु-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुन देशबाट पहिलो निम्तो आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित भएको बताएका छन् । आफ्नो आसन्न चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा भाग लिएर निस्किने क्रममा अध्यक्ष नेपालले भने, ‘कुन देशको भ्रमण पहिले गर्ने भन्ने टण्टाबाट मुक्त हुनुपर्छ । जसले पहिलो निम्तो दिन्छ, पहिला उतै जाने हो ।’

प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल थालेका हुन् ।

नेपालले भ्रमणको सन्दर्भमा देशको हितलाई ध्यानमा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘छिमेकीहरूको मनमा कुनै किसिमका शंका छ भने त्यसलाई ध्यानमा राखेर उनीहरूको संवेदनशीलतालाई बुझ्नु पर्छ’, उनले भने ।

नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने पनि सुझाव प्रधानमन्त्रीलाई दिएको बताए ।

‘वीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं’, उनले भने ।