कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ : अध्यक्ष नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् ।

पार्टी निकट जनसांस्कृतिक महासंघद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए ।

अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै प्रमुख समस्या हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिष्ट एकताबद्व भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा दण्डहिनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिष्ट पार्टीले विगतका गरेका कमी–कमजोरी स्वीकारेर एकीकृत हुनपर्ने विचार व्यक्त गरेका छन् ।

दीपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले मुलुकको आर्थिक विकास तथा सामाजिक रूपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।