सभामुख अग्नी सापकोटाको क्षेत्रमा माधव सापकोटा माओवादीबाट उम्मेदवार बन्ने

सभामुख अग्नी सापकोटाको क्षेत्रमा माधव सापकोटा माओवादीबाट उम्मेदवार बन्ने


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा माओवादी केन्द्रका नेता माधव सापकोटा उम्मेदवार बन्ने भएका छन् । सभामुख अग्नी सापकोटाको क्षेत्रबाट माओवादीले प्रतिनिधिसभामा सापकोटालाई उम्मेदवार बनाउन लागेको हो । सत्ता गठबन्धनले शुक्रबार सिन्धुपाल्चोकका दुई क्षेत्रमा १ माओवादी केन्द्र र २ नेपाली कांग्रेसलाई दिने सहमति गरेको थियो ।

सभामुख सापकोटाका नाताले भतिजा रहेका माधवलाई माओवादीले क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने टुंगो लागेको छ । उनलाई दिन अग्नी समेत सकरात्मक बनेको बताइन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले माओवादी केन्द्रलाई उक्त क्षेत्र नछोड्ने अडान लिएपनि अन्तिममा उनि क्षेत्र नम्बर २ मा जान तयार भएको उनि निकट स्रोत बताउंछ ।

सभामुख सापकोटालाई यसपटक विदा दिएर माओवादीले पोलिटब्युरो सदस्य माधवलाई उम्मेदवार बनाउन लागेको हो । उनि यसअघि ०७४ मा नै संघको दावेदार थिए ।

माओवादीका जिल्ला इन्चार्ज समेत रहेका सापकोटा सिन्धुपाल्चोकमा निकै प्रभाव भएको नेताका रुपमा चिनिन्छन् । उनि यसअघि स्थानीय विकासमन्त्री हित बहादुर पाण्डेको राजनीतिक सल्लाहकार समेत बनेका थिए ।

सिन्धुपाल्चोक २ को क मा माओवादी नेता युवराज दुलाल र ख मा निमा लामा र क्षेत्र नम्बर १ को क मा मसिना खड्काले टिकट पाउने सम्भावना छ भने ख मा माओवादी केन्द्रको वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री उम्मेदवार बन्ने भएका छन् ।