काठमाण्डु – ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक एवं नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी) पार्टीले तेस्रो वरियता दिएर भित्र्याउने भएको छ । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल छन् ।
त्यसपछिको वरियतामा सम्मानित नेता झलनाथ खनाल छन् । त्यो पछिको वरियतामा गौतमलाई भित्र्याउने तयारी पार्टीले गरिरहेको गौतमसँग कुरा गरिरहेका एक नेताले जानकारी दिए ।
गौतम र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बिहीबार यसबारे फाइनल कुराकानी हुँदैछ ।
गौतम संयोजक रहेको अभियानका नेता डीबी कार्कीले बिहिबार नेता नेपाल र गौतमबीच भेट हुने समय तय भएको जानकारी दिए । भेटमा पार्टी प्रवेशबारे कुराकानी हुने उनले बताए ।
एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । तर, गौतमले भने अभियानका नेताहरूलाई पनि समेटेर मात्रै एकीकृत समाजवादीमा सहभाग्री हुने निर्णय गर्ने बताउँदै आएका छन् ।
गौतमले आफूले एकीकृत समाजवादी र एमालेसँग पार्टी प्रवेशबारे छलफल र संवाद भइरहेको बताउँदै आएका छन् ।
गौतमले यसअघि एमाले महासचिव शंकर पोखरेलसँग भेटेर एकताको आह्वानसहित निर्णय गरिदिन माग गरे पनि एमालेले पार्टी एकता नभई व्यक्ति व्यक्ति प्रवेशको मात्र बाटो खोलेपछि गौतम असन्तुष्ट बनेका छन् । एकीकृत समाजवादीले पार्टी एकता गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया