काठमाण्डु – तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताको प्रयास थालिएको छ ।
नेता हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेका बेला मधेशी एकता समाजले भोलि मंगलबार ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गर्दैछ ।
मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, डा. सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, डा. अमरेश कुमार सिंह, तुला नारायण साह, दिपेन्द्र चौबे वक्ता रहेका समाजले जनाएको छ ।
काठमाण्डुको अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने कार्यक्रमका लागि समाजले सञ्चारमाध्यमलाई निमन्त्रणा समेत पठाएको छ ।
कार्यक्रम हुनुअघि आईतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्र सहितको टोलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवसँग छलफल गरेका छन् ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले बताए ।
जप्रपाले तराई–मधेस केन्द्रित दलहरूबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य छन् ।
प्रतिक्रिया