काठमाण्डु-मधेस प्रदेशका ४ जिल्लामा भएको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । मधेशका चार जिल्लाका ७ वटा वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ । ती सबै वडाको मतगणना आइतबार राति नै सकिएको छ ।
सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाका ७ वडामा उपनिर्वाचन भएको हो ।
यीमध्ये ४ वटामा यसअघि नेपाली कांग्रेसले जितेको थियो भने एमाले, माओवादी र जसपाले एक–एक वटा वडा जितेका थिए ।
तर यस पटक परिणाम बदलिएको छ । कांग्रेस दुईवटा वडामा खुम्चिएको छ भने जसपा र एकीकृत समाजवादीले नाफा कमाएका छन् । एमाले र माओवादी एक–एक सिट जोगाउन सफल भएका छन् ।
तर, दुबै दलले पहिले जितेका वडाहरूमा हार व्यहोरेर अर्को वडाबाट जितेका छन् ।
७ वटा वडाहरूको चुनावी परिणाम हेर्दा मधेशमा सिके राउतको जनमत पार्टीप्रतिको आकर्षण घटेको छ । राउतको गृहजिल्लामै उपेन्द्र यादव नेतृत्वको जसपाले कांग्रेसका दुई वडाध्यक्ष खोसेको छ । धनुषा, महोत्तरी र रौतहटमा पनि जनमत पार्टीमा खासै आकर्षण देखिएको छैन ।
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिमा सुधार देखिएन भने एमाले, माओवादीजस्ता वाम दलहरु विभाजित हुँदा कांग्रेसलाई फाइदा पुगेको छ । एमाले विभाजनको असर रौतहटमा प्रष्ट देखियो ।
प्रतिक्रिया