काठमाण्डु – मधेशका मुद्दामा साझा धारणा तय गर्न मधेश केन्द्रित दलहरूले औपचारिक रूपमा संघीय लोकतान्त्रिक मोर्चा घोषणा गर्दैछन् ।
बिहीबार मधेश केन्द्रित ७ दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिदैंछ ।
कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र २ दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर आएपछि मधेश केन्द्रित दलहरू मोर्चाका नाममा एकीकृत हुन लागेका हुन् ।
७ दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।
यसअघि मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत रहनेगरी छलफल भए पनि राई यसबाट अलग भएका छन् । मोर्चाको नेतृत्व ७ वटै दलका अध्यक्षले आलोपालो गर्ने सहमति बनेको छ ।
पहिलो चरणमा जसपा नेपालका अध्यक्ष यादवले मोर्चाको नेतृत्व गर्ने छन् । नेताहरूका अनुसार मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मधेशी मोर्चा’ रहने छ ।
मोर्चा बनाउन दलहरूले दुइटा कार्यदल पनि बनाएका थिए । मोर्चाको मापदण्ड र अचारसहिंता तथा साझा मुद्दा तय गर्न एउटा कार्यदल बनेको थियो भने सबै दलको राय बुझेर मोर्चा गठनका लागि अर्को कार्यदल बनाइएको थियो । कार्यदलले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । दुइटै कार्यदलले काम गरेर प्रतिवेदन बुझाएपछि मोर्चाको औपचारिक घोषणा हुन लागेको हो ।
अशोक राई नेतृत्वको जसपाले मोर्चाको नेतृत्वमा आपत्ति जनाएको छ । मोर्चाको नेतृत्व संसद्मा भएको शक्तिको आधारमा हुनुपर्ने राईको तर्क छ ।
मोर्चाको नेतृत्वमा जसपा नेपालका अध्यक्ष यादवलाई अघि सारिएपछि राईले आपत्ति जनाएका हुन् । राईले यादवको पार्टीबाट फुटेर नयाँ पार्टी बनाएका हुन् । उता, राउत नेतृत्वको जनमत पार्टीले पनि मोर्चाको नेतृत्वप्रति असन्तुष्टि जनाएको छ ।
यादवले नेतृत्व गरेको जसपा नेपालभन्दा संसद्मा राई र राउतका पार्टीको सांसद संख्या बढी रहेको जनाउँदै उनीहरूले मोर्चाको नेतृत्व आफूहरूले पाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा जसपाका ७, जनमतका ६ र जसपा नेपालका ५ सांसद छन् ।
मोर्चामा तेस्रो स्थानमा रहेको पार्टीबाट नेतृत्व आउने भएपछि उनीहरूको आपत्ति हो ।
राई नेतृत्वको जसपाका महासचिव इस्तियाक राईले भने, ‘नेतृत्व लिनेबाहेक मोर्चाको अरू कुनै उद्देश्य छैन । नेतृत्व लिनका लागि मात्र गठन गर्न लागेको देखियो ।’
मोर्चामा रहेको पहिलो र दोस्रोले नेतृत्व नपाएर तेस्रोले पाउने स्वीकार्य नहुने उनको भनाइ छ । मोर्चाको आडमा यादवलाई मूल नेता स्वीकार गर्न नसकिने जनमतको भनाइ छ । जसपा कार्यक्रममा सहभागी नहुने भएपछि ७ दलमा सबैभन्दा ठूलो दलको स्थानमा जनमत हुन्छ ।
यसबीच जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ ।
बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया