विषाक्त मदिरा सेवनबाट भारतमा २९ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट भारतमा २९ जनाको मृत्यु


नयाँ दिल्ली-भारतको तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बिरामी भएका ६० भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ती व्यक्तिले प्याकेटमा पाइने मदिरा सेवन गरेका थिए ।

कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर थिए । मदिरा सेवन गरेपछि राति नै यी व्यक्तिलाई पखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुने समस्या देखिन थालेको छ ।

यस मामिलामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट मिथानोल मिसाइएको करिब दुई सय लिटर विषाक्त मदिरा बरामद भएको छ ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर-एसपीलाई बर्खास्त गरेको छ ।