भारतमा महाकुम्भ मेला सुरु

भारतमा महाकुम्भ मेला सुरु


काठमाण्डु- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला सोमवारदेखि सुरु भएको छ ।

गंगा, जमुन र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो । उत्तर प्रदेश सरकारले आगामी महाशिवरात्रीसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान गरेको छ ।

मेलामा सोमवार पहिलो शाही स्नान भएको छ । ४ हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो दिन प्रदेश सरकारले श्रद्धालुलाई हेलिकोप्टरबाट २० क्विन्टल गुलाबको फूलबाट पुष्पवृष्टि गराएर स्वागत गरेको छ ।

अत्यधिक चिसोमा विदेशी भक्तजनहरू पनि डुब्ने गरेका छन् । एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि महाकुम्भमा पुगेकी छन् ।

१४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो । यस्तो समयमा पवित्र स्नान, पूजा, र धार्मिक अनुष्ठानले आत्मा शुद्ध हुनुका साथै र मोक्षको मार्गतर्फ उन्मुख हुने मान्यता छ । मेला धार्मिक महत्त्वका साथसाथै भारतीय सांस्कृतिक धरोहर र एकताको प्रतीकका रूपमा पनि चिनिन्छ ।

सोमवारदेखि सुरु महाकुम्भ मेलाले फागुन १४ मा महाशिवरात्रिका साथ सम्पन्न हुनेछ । यस अवधिमा हुने प्रमुख शाही स्नान, जस्तै मकर सङ्क्रान्ति, मौनी अमावस्या, र वसन्त पञ्चमी, श्रद्धालुहरूले आत्म शुद्धिको लागि विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ । पौराणिक विश्वासअनुसार, त्रिवेणी सङ्गममा पवित्र स्नान गर्दा पाप नाश भई मोक्ष प्राप्त हुन्छ ।