काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)सँग भएको सम्झौतामा मुलुकलाई असर पार्ने खालको अनुकुल विषय केही नभएको स्पष्ट पारेका छन् ।
आज राष्ट्रिय सभागृहमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त दाबी गरेका हुन् ।
हालै अमेरिकी सरकारले समेत यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै ओलीले यसमा अप्ठेरो मान्नुपर्ने कुनै कारण नभएको बताए ।
त्यसैगरी ओलीले तत्कालीन समयमा कृष्णबहादुर महरा उपप्रधानमन्त्री रहँदा यस विषयमा वार्ता भएको स्मरणसमेत गरे ।
उनले भने, ‘कृष्णबहादुर महराले नै वार्ता गर्नुभएको हो । यसको जुलाई २१, २०१७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । उहाँले पार्लियामेन्टबाट पनि पास हुन्छ । मन्त्रिपरिषद्बाट पनि केही अप्ठेरो हुँदैन भन्नु भएको थियो ।’
त्यसपछि शेरबहादुर देउवा नेतृत्वको पालामा अर्थमन्त्री ज्ञानेन्द्र कार्की न्युयोर्क पुगेर एमसिसीमा सम्झौता भएको ओलीले बताए । ५५ अर्बजस्तो पैसा बेलैमा सम्झौता नगरे फ्रिज हुने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिए ।
उनले भने, ‘विकासमा मात्र खर्च गर्न पाइने गरी सम्झौता गरेको हो । ५५ अर्बजस्तो रकम नेपालले पाउने भएको छ । यसको कुनै लिंक छैन । सम्झौता पुरा नभए पैसा फ्रिज हुन्छ । सम्झौता पनि त्यतिमै टुंगिन्छ । इन्डो प्यासेफिकसँग जोडिनु बेकार छ ।’
प्रतिक्रिया