काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतर्फ गइरहेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आर्थिक सूचक सकारात्मक भएर गएको बताउँदै परिणाम देखिन केही समय लाग्ने दावी गरेका हुन् ।
‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर, परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’, उनले भने ।
मन्त्री महतले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताएका छन् । सेयर बजार तल भयो भन्ने गुनासो रहेकोमा मौद्रिक नीतिपछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको उनले जानकारी दिए ।
प्रतिक्रिया