काठमाण्डु– विष्णु महायज्ञका नाममा दलितको घर भत्काएको अभियोगमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ परेका छन् ।
सिरहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव पक्राउ परेका हुन्।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।
सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने डीआईजी आचार्यले बताए ।
दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रुपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई तानिसकेको छ ।
औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए ।
मरिकको घर मात्र भत्काइएन अपितु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालियो ।
उनीहरुलाई सुन्दर जनता माध्यमिक विद्यालय औरहीको जग्गाको २ धुर जग्गामा (एक कुनामा) दुई कोठाको फुसको घर बनाएर राखिएको छ ।
प्रतिक्रिया