कर्णालीका मुख्यमन्त्रीले छ वर्षदेखि लिइरहेका छन् जीवननिर्वाह भत्ता

कर्णालीका मुख्यमन्त्रीले छ वर्षदेखि लिइरहेका छन् जीवननिर्वाह भत्ता


कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ। सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ।

सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ। शाहीले ६ वर्षदेखि निरन्तर विशिष्ट श्रेणीको घाइतेले पाउने मासिक १२ हजार चार सय रुपैयाँ जीवननिर्वाह भत्ता लिँदै आएका छन्। जीवननिर्वाह भत्ता लिने क्रम उनी सभासद् तथा ऊर्जामन्त्री हुँदा पनि कायम थियो।

स्थानीय शान्ति समिति कालिकोटले सशस्त्र द्वन्द्वका बेला घाइते भएका एक सय ३४ जनालाई भत्ताका लागि सिफारिस गरे पनि उनीहरूले राहत पाएका छैनन्। सरकारले प्रदान गरेको जीवननिर्वाह भत्ता लिनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित ६५ जना छन्। जिल्ला प्रशासन कार्यालयले शाहीको राष्ट्रिय वाणिज्य बैंक काठमाडौंको खाता नं. १४३०००२१२८५१० मा हरेक महिना १२ हजार चार सयका दरले चौमासिक रूपमा भुक्तानी दिँदै आएको छ। स्रोतका अनुसार यो वर्षको कात्तिकमा पनि उनको खातामा रकम गइसकेको छ।  अन्नपूर्ण पोस्टमा खबर छ ।