नेसपाको महेन्द्र राय समूहले उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने

नेसपाको महेन्द्र राय समूहले उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने


काठमाण्डु-महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने निर्णय गरेको छ ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएका पार्टीका महासचिव रमेश प्रसाद यादवले जानकारी दिए । संघीय संसद्मा पार्टीको एक सिट छ ।

‘स्थानीय तहको उपनिर्वाचनमा हाम्रो पार्टी माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर चुनावमा सहभागी हुँदैछ,’ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्रका उम्मेदवार रहेका पालिका र वडाहरुमा हाम्रो पार्टीको पूर्णरुपमा सहयोग रहनेछ ।’

नेसपाका संघीय सांसद यादव पनि २०७९ को निर्वाचनमा सर्लाही–१ बाट माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचित भएका थिए । नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भइसकेको छ ।

महिन्द्रा राय यादव डा.बाबुराम भट्टराईको पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन् ।

माओवादी केन्द्र र माधव नेपाल नेतृतवको एकीकृत समाजवादी पार्टीबीच पनि काठमाडौँमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सहमति अनुसार कीर्तिपुरको मेयर र वडाहरुमा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौँको वडा नम्बर १६ मा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने सहमति छ ।