काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकका बोल्दै राजपा संसदीय दलका नेता महेन्द्र राय यादवले आफूहरुलाई सरकारमा जान कुनै हतारो नभएको बताएका हुन् ।
नेता यादवले राजपाले तत्कालै सरकारलाई समर्थन गर्ने अवस्था समेत नभएको बताए । उनले रेशम चौधरीलगायतका नेताहरु अझै पनि जेलमा रहेकाले सरकारमा नजाने प्रष्ट पारेका छन् ।
‘मधेशी जनतासँग सरकारले गरेको बाचा पूरा गर्नुपर्छ । सरकारकाले संविधान संसोधन गरोस्, २५ जना हाम्रा नेताहरु जेलमा छन् । राजपा मुद्धाका लागि गठन भएको पार्टी हो, सरकारमा जान हैन,’ नेता यादवले भने, ‘रेशम चौधरीलगायत अन्य नेता कार्यकर्ता पनि जेलबाट निकालियोस् । राजपा सरकारमा जाने सम्भावना छैन, मधेशी दललाई पालैपालो सरकारमा ल्याउने सरकारको चाहना हामीले बुझेका छौं ।’
यादवले सरकारसँग उपसभामुख नमागेको बताएका छन् । उनले भने, ‘हाम्रो पार्टीले सभामुख मागेको छैन । नमागे पनि दिने ? राजपाको सन्दर्भमा सरकारको दृष्टिकोण के हो ? हामी पार्टीमा छलफल गर्छौं ।’
प्रतिक्रिया