कांग्रेसले संसद्लाई मुठभेडमा लैजान चाह्यो : प्रमुख सचेतक बर्ताैला

कांग्रेसले संसद्लाई मुठभेडमा लैजान चाह्यो : प्रमुख सचेतक बर्ताैला


काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्लाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।

शनिवार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् अवरोध गर्ने क्रममा बिहीबार कांग्रेसले एमाले अध्यक्षमाथि गरेको दुर्व्यवहार प्रयासले मुठभेडतिर लैजान खोजेको पुष्टि हुने बताए ।

उनले भने, ‘संसद्मा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रदर्शन गरे, उदण्ड व्यवहार प्रदर्शन गरे । भीडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तिको घटनाबाट देखिन्छ ।’

कांग्रेसले संसद्को वेल घेरेको र नाराबाजी गरेकोमा एमालेलाई कुनै आपत्ति नहुने पनि उनले बताए । ‘तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुति उहाँहरूबाट भयो त्यो संसदीय इतिहासमा एउटा कालो दिनको रूपमा रहन्छ,’ उनले भने ।

प्रमुख सचेतक बर्तौलाले सहकारी ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।