काठमाण्डु – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको थियो ।
दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भएको थियो ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । यसअघि एन्फाले ३१ टोली सहभागीलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।
अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया