अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाउने यी हुन् पाँच खेलाडी

अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाउने यी हुन् पाँच खेलाडी


काठमाण्डु – यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पारेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि हात पार्न सफल भएको हो ।

अष्ट्रेलियाले पहिलोपटक टी २० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो ।

तर, यसपटक भने उसले ऐतिहासिक जितसँगै उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियालाई पहिलो पटक टी-२० विश्व च्याम्पियन बनाउन यी पाँच खेलाडीको महत्वपूर्ण भूमिका छ ।

डेभिड वार्नर

डेभिड वार्नरले न्युजिल्याण्डविरुद्धको फाइनलमा उत्कृष्ट ५३ रन बनाएका थिए । उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए । वार्नरले ३८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड पनि पाए ।

मिचेल मार्स

कप्तान आरोन फिन्च मात्र पाँच रनमा आउट भएपछि ब्याटिङमा आएका मिचेल मार्सले डेभिड वार्नरसँग मिलेर अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए । उनले ५० बलमा छ चौका र चार छक्का प्रहार गर्दै ७७ रनको अविजित इनिङ्स खेले । र, कंगारू टोलीलाई टी–२० विश्वकपको पहिलो जित दिलाएका थिए । वार्नर आउट भएपछि पनि उनले अग्रता कायम राखे ।

ग्लेन म्याक्सवेल

डेभिड वार्नरलाई आउट गरेपछि न्युजिल्यान्डको आशा फेरि बलियो भयो । तर, ग्लेन म्याक्सवेलले मिचेल मार्ससँगको उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए । मार्स र म्याक्सवेल अन्तिमसम्म विकेटमा रहे र टोलीलाई उपाधि दिलाए । म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २८ रनको उत्कृष्ट पारी खेले ।

जोस हेजलवुड

जोस हेजलवुडले यो खेलमा उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १६ रन दिएर तीन विकेट लिए। उनले ड्यारेल मिचेल, केन विलियम्सन र ग्लेन फिलिप्सलाई प्याभिलियनको बाटो देखाएका थिए । हेजलउडले विलियम्सनको क्याच छोडेका थिए। तर, पछि भने कीवी कप्तानलाई प्याभिलियन पठाए ।

एडम जाम्पा

एडम जाम्पाले किवी टोलीका ब्याट्सम्यानलाई हात खोल्ने मौका दिएनन्। उनले चार ओभरमा २६ रन दिएर एक विकेट लिए । जाम्पाले मार्टिन गुप्टिललाई आउट गरे । गुप्टिलको यो विकेट अष्ट्रेलियाका लागि निकै महत्वपूर्ण थियो। किनकि यदि गुप्टिलले लय समातेको भए अष्ट्रेलियाले कठिनाइको सामना गर्नु पर्ने थियो ।