माल्दिभ्समा – राजनीतिक बन्दीहरूलाई रिहा गर्न आदेश

माल्दिभ्समा – राजनीतिक बन्दीहरूलाई रिहा गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माल्दिभ्स – माल्दिभ्सको सर्वोच्च अदालतले जेलमा रहेका वरिष्ठ राजनीतिक नेताहरूलाई तत्काल रिहा गर्न आदेश दिएको छ । अदालतको यो निर्णय कार्यान्वयनमा गएपछि त्यसले संसदका १२ सदस्यहरूलाई पुनर्स्थापित गर्छ जसको मतलब संसदमा विपक्षी पार्टीको बहुमत हुन्छ ।

 

न्यायाधीशहरूले निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदविरुद्ध भएको फैसला पनि उल्ट्याइदिएका छन् । अदालतले पूर्व राष्ट्रपति नाशिदलाई यसअघि सुनाइएको १३ वर्षे जेल सजाय खारेज गरिदएको हो ।

 

अदालतको पछिल्लो आदेशले सन् २०१६ देखि ब्रिटेनमा राजनीतिक शरणमा रहेका उनलाई देश फर्कन र चुनावमा भाग लिन अनुमति दिन्छ । एउटा ट्वीट गर्दै नाशिदले राष्ट्रपति अब्दुल्ला यामिनलाई अदालतको आदेश पालना गर्न र पदबाट राजीनामा गर्न आह्वान गरेका छन् ।

 

सन् २०१५ मा उनी विरुद्ध सुनाइएको जेलसजायलाई लिएर अन्तर्रा्ष्ट्रिय रूपमा चर्को निन्दा भएको थियो । माल्दिभ्समा धेरै जसो विपक्षी नेताहरू या जेलमा परेका छन् वा निर्वासनमा गएका छन् ।

 

अधिकारकर्मीहरूले प्रजातन्त्र खतरामा रहेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए । माल्दिभ्समा विपक्षीहरूले अदालतको आदेशलाई ऐतिहासिक भनेका छन् । माल्दिभ्सको राजधानी मालेमा अदालतको आदेशपछि खुसीयाली मनाउन सडकमा निस्किएका विपक्षी पार्टीका समर्थकको भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको थियो ।

 

माल्दिभ्सका लागि अमेरिकाका राजदूत अतुल केशपले बन्दीहरूको रिहाइलाई स्वागत गर्दै अदालतको निर्णयले प्रजातन्त्र र कानुनी शासन बलियो बनाउनेमा आफू विश्वास्त रहेको बताएका छन् ।

 

एउटा आश्चर्यजनक निर्णय गर्दै अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको अदालतले जनाएको छ । वर्तमान राष्ट्रपति यामिनमाथि भ्रष्टाचार र सम्भावित प्रतिद्वन्द्वीलाई पाखा लगाउन खोजेको आरोप लागेको छ । तर उनले उक्त आरोप अस्वीकार गरेका छन् ।

वीवीसी