मालिन्दो विमान दुर्घटना : पाइलटले टारे सम्भावित ठूलो दुर्घटना

मालिन्दो विमान दुर्घटना : पाइलटले टारे सम्भावित ठूलो दुर्घटना


काठमाडौं- काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर पर पुगेर रोकिएको थियो ।

त्यसपछि बन्द भएको विमानस्थलमा शुक्रबार दिउँसो ११ः३५ बजे मात्र अन्तर्राष्ट्रिय उडान चालू गरिएको थियो । चिप्लिएको विमानलाई दुर्घटनास्थलबाट पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका अग्नि नियन्त्रक तथा उद्धार सेवाका कर्मचारी र नेपाल वायुसेवा निगमका ग्राउन्ड ह्यान्डलिङ विभागका कर्मचारी खटिएका थिए ।

२५ मिटर धावनमार्ग खुलाएर उडान सुरु
बिहीबार रातिबाट धावनमार्ग बन्द गरिएपछि शुक्रबार बिहानसम्म दर्जनौँ उडान प्रभावित भए । त्यसकारण विमानस्थलमा यात्रुको अत्यधिक चाप देखिन्थ्यो । विमानस्थल व्यवस्थापनले शुक्रबार बिहान ७ बजेपछि धावनमार्ग २५ मिटर खुला गरेर आन्तरिकतर्फको उडान सुरु गरेको थियो । त्यस समय चिप्लिएको जहाजलाई दुर्घटनास्थलबाट निकालेर बाहिर ल्याउने प्रयास जारी रह्यो । दिउँसो ११ बजे जहाज धावनमार्गमा निकालिसकेपछि भने अन्तर्राष्ट्रिय उडानको बाटो खुलेको थियो ।

डाइभर्ट गरिएका जहाज भारत र बंगलादेश
त्रिभुवन विमानस्थलको धावनमार्ग बन्द भएपछि बिहीबार राति नेपाल भित्रिसकेका चारवटा जहाज डाइभर्ट भए । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बिहीबार राति नेपाल आएका जहाजमध्ये ओमान एयर र चाइना साउदर्नको जहाज कलकत्ता डाइभर्ट गरियो । फ्लाई दुबईको जहाज दिल्ली पठाइएको थियो भने मलेसियन एयरको जहाजलाई ढाका पठाइएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा एउटामात्रै धावनमार्ग हुनुको पीडा
२० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमै चिप्लिएपछि ४ दिनसम्म विमानस्थल बन्द भयो । त्यसलगत्तै १२ वैशाख ०७२ मा मुलुकले भूकम्पको ठूलो धक्का महसुस गर्नुपर्‍यो । भूकम्पबाट विमानस्थलमा कुनै क्षति त भएन, तर एउटा मात्र धावनमार्ग रहेको विमानस्थलमा कुनै पनि वेला समस्या आउने डर भने रहिरह्यो । २८ फागुन ०७४ मा बंगलादेशबाट काठमाडौं आएको युएसबंगला एयरलाइन्सको जहाज धावनमार्गमा अवतरण हुनै लाग्दा दुर्घटना ह“ुदा उडान तथा अवतरण ठप्प रह्यो । बिहीबार मालिन्दो एयरको विमान दुर्घटना र धावनमार्गमा देखिएको अवरोधले पुनः नेपालमा वैकिल्पक विमानस्थलको आवश्यकता र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग हुनुको पीडा सम्झाइदिएको छ ।

के कारणले जहाज चिप्लियो ?
विमानस्थलको दक्षिणतर्फको धावनमार्ग ०२ बाट टेकअफ (उडान) लिने समयमा पाइलटले जहाजलाई अकस्मात् रोक्न खोजे । ‘उड्ने अन्तिम तयारीका क्रममा धावनमार्गमा तीव्र गतिमा गुडिरहेको जहाजको ककपिटको डिस्प्लेमा पाइलटले समस्या देखे,’ दुर्घटनाको प्रारम्भिक कारणबारे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘त्यसपछि उनले एबन्डन टेक अफ (जहाज नउडाउने निर्णय) गर्दा जहाज धावनमार्ग छाडेर अगाडि गुड्यो र ४० मिटर पर पुगेर रोकियो ।’

जहाजमा चालक दलका सदस्यसहित एक सय ३९ यात्रु सवार थिए । दुर्घटनामा सबै यात्रु सकुसल रहे । जहाजको अगाडिको एउटा पांग्रामा समस्या आउनुबाहेक बाहिरी स्वरूपमा कुनै समस्या नदेखिएको क्षेत्रीले बताए । शुक्रबार नै नेपाल आएका मालिन्दो एयरका प्राविधिकले जहाजको प्राविधिक अध्ययन थालेका छन् ।