भारतका ‘एक्सिडेन्टल’ प्रधानमन्त्री

भारतका ‘एक्सिडेन्टल’ प्रधानमन्त्री


काठमाण्डु- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीवार राति निधन भएको छ ।

उनी भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने मध्येका एक थिए । प्रधानमन्त्रीका रूपमा सिंहलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार पनि मानिन्छ ।

सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले त्यस्ता सुधारका काम गरेका थिए । बिहीवार स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानी दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

सिंहलाई भारतको ‘अनपेक्षित प्रधानमन्त्री’का रूपमा समेत हेर्ने गरिन्छ । जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उनी पहिलो भारतीय नेता थिए । यस्तै, भारतको शीर्ष पद धारण गर्ने पहिलो सिखसमेत सिंह थिए । उनले सन् १९८४ मा झन्डै तीन हजारको संख्यामा सिखहरू मारिनेको घटनाप्रति संसद्मा सार्वजनिक रूपमा माफी मागेका थिए ।

तर आफ्नो दोस्रो कार्यकाल सम्हाल्दा भने सरकारप्रति व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो । धेरैले सन् २०१४ को आमनिर्वाचनमा उनको कांग्रेस पार्टीको पराजित हुनुको आंशिक कारणका रूपमा त्यस बेला देखा परेका घोटाला प्रकरणलाई जिम्मेवार मान्ने गर्छन् ।

तर गठबन्धन राजनीतिका कारण गर्नुपरेका धेरैजसो सम्झौताका कारण उनको कार्यकाल कमजोर बनेका रूपमा समेत हेरिन्छ ।

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्तको एउटा उजाड गाउँमा भएको थियो । सिंहको जन्मघर हालको पाकिस्तानमा पर्छ । त्यहाँ पानी र बिजुलीको अभाव थियो ।

पञ्जाब विश्वविद्यालयमा पढेपछि उनी स्नातकोत्तर अध्ययनका लागि यूकेको क्याम्ब्रिज विश्वविद्यालय पुगे र पछि अक्सफर्डबाट डीफिल गरे ।

क्याम्ब्रिजमा पढ्दै गर्दा पैसाको अभावले सताएको कुरा उनकी छोरी दमन सिंहले आफ्ना आमाबाबु बारेको एउटा पुस्तकमा लेखेकी छन् ।  आलोचकहरूले सिंहले सधैँ सोनिया गान्धीको छायामा काम गरेको टिप्पणी गर्छन् । सन् १९९१ मा सिंह अर्थमन्त्रीको रूपमा भारतको

राजनीतिक वृत्तमा प्रस्टसँग देखा परे । त्यसबेला देश आर्थिक रूपमा ऋण तिर्न नसक्ने अवस्थामा पुग्न आँटेको थियो ।

त्यस अप्रत्याशित नियुक्तिले एक प्राज्ञिक अनुहार र सरकारी कर्मचारी रूपमा बिताएको सफल करिअरलाई नयाँ उचाइ प्रदान गर्‍यो । त्यसअघि उनी भारत सरकारको आर्थिक सल्लाहकार र त्यहाँको केन्द्रीय बैंकको गभर्नर बनिसकेका थिए । संसद्मा आफ्नो पहिलो मन्तव्यका क्रममा अर्थमन्त्री सिंहले प्रसिद्ध भिक्टर ह्यूगोलाई उद्धृत गर्दै भनेका थिए, ‘जसको विचारको समय आएको छ त्यसलाई पृथ्वीको कुनै शक्तिले रोक्न सक्दैन ।’

त्यस मन्तव्य उनको महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमहरूको सुरुवाती विन्दु थियो । उनले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरे ।

यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो । बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च रह्यो ।

सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता गरेको रूपमा हेरिन्छ ।

आफूसँग राजनीतिक समर्थनको आधार नरहेको कुरा मनमोहन सिंहलाई राम्ररी थाहा थियो । उनले भनेका थिए, ‘राजनेता बन्नु राम्रो कुरा हो। तर लोकतन्त्रमा राजनेता बन्नका लागि पहिला चुनाव जित्नुपर्छ ।’

तर सन् १९९९ मा लोकसभा चुनाव जित्ने उनको प्रयास सफल हुन नसकेपछि कांग्रेसले उनलाई राज्यसभामा पठायो ।

सन् २००४ मा पनि त्यस्तै भयो । तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए ।

त्यसबेला सोनिया गान्धीको विदेशी मूल बारे प्रश्नहरू उठेका थिए । आलोचकहरूले सिंहलाई प्रधानमन्त्री बनाए पनि वास्तविक शक्ति सोनिया गान्धीको हातमा रहेको थियो भनेर टिप्पणी गर्ने गर्छन् । तर सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए । बीबीसीको रिपोर्टमा आधारित