मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको छ ।
हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने भएपछि किसानहरु खुसी भएका छन् ।
किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतको उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ ।
नासो गाउँपालिका–८ ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए । उहाँले भन्नुभयो, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्ने आउने रु प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।”
जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन् ।
जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने सङ्केत देखिएकाे छैन ।
प्रतिक्रिया