काठमाण्डु: मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण सुरु भएको छ ।
आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ ।
गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।
आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ ।
आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।
आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
प्रतिक्रिया