काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार नेपाल र चीन जोड्ने हुम्लास्थित हिल्साको अवलोकन गरेका छन्।
सोमबार बिहान हुम्ला पुगेका भारतीय राजूदत पुरीले हिल्सामा २० मिनेट विताए। सो क्रममा उनी केही समय सीमा प्रहरी चौकीमा समेत पुगेका थिए।
नेपालगञ्जबाट नियमित उडानमा सोमबार बिहान ७ः १५ बजे हुम्ला विमानस्थलमा अवतरण गरेका पुरी त्यहाँबाट सिम्रिक एयएरको हेलिकोप्टर चार्टर गरेर हिल्सा पुगेका थिए। त्यसअघि हुम्ला बिमानस्थलमा हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेल र पुरीबीच अनौपचारिक भेट भएको थियो।
प्रजिअ पौडलले पुरीसँग बिमानस्थलमा अनौपचारिक भेट भएपनि आउनुको कारण थाहा नभएको बताए। ‘म पनि सोमबार नेपालगञ्जबाट बिमानमा आएको थिए। उहाँसँग हुम्ला विमानस्थलमा अनौपचारिक भेट भएको हो,’प्रजिअ पौडेलले भने।
नेपालस्थित भारतीय राजदूतावासले पुरी कैलाश मानसरोवरको यात्राका विषयमा जानकारी लिन हुम्ला गएको बताएको छ। हिल्सा हुँदै कैलाश मानसरोवर जाने गरिन्छ। पुरी साढे १० बजे नेपालगञ्ज फर्किएका थिए।
पुरीले हिल्साको अवलोकन गरेको तस्बिर नेपालस्थित भारतीय दूतावासले ट्वीटरमार्फत् सार्वजनिक गरेको छ।
प्रतिक्रिया