काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।
मन्त्री डा. देउवाले आईतबार साँझ काठमाण्डुस्थित भारतीय राजदूतावासमा पुगी स्व. सिंहको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।
उनले शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र रहेका भनेकी छन् ।
पुस्तिकामा मन्त्री डा. देउवाले स्व. सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैं सहयोग गरेको स्मरण गर्दै सहयोग र समर्थनका कारण उनी सधैं नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरेकी छन् । मन्त्री डा. देउवाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताएकी छन् ।
भारतीय पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया