काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर मंगलबार बिहान नेपाल आउन लागेका छन् ।
संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
संखुवासभामा रहेको वसन्तपुर– बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२० केभीका ४ वटा सबस्टेसन र ३ वटा ट्रान्समिसन प्रसारण लाइनको संयुक्त उद्घाटन हुँदैछ ।
कोशी करिडोरअन्तर्गत बानेश्वर–वसन्तपुर ३३ किलोमिटर प्रसारण लाइन, वसन्तपुर–ढुङ्गे साँघु ३४ किलोमिटर र वसन्तपुरदेखि इनरुवासम्म ७४ किलोमिटर प्रसारणलाईन निर्माण भएको छ ।
सन् २०१६ बाट शुरु भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको छ ।
यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट, र वसन्तपुरदेखि इनरुवा खण्डमा करीब २ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने क्षमता रहेको छ । अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा जोड्न कोशी करिडोरको विकास गरिएको छ ।
आयोजना पूर्वी नेपालमा विद्युत् आपूर्तिको भरपर्दो आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने जनाइएको छ ।
प्रतिक्रिया