आजदेखि मनसुन पुनः सक्रिय, यी २७ जिल्लामा उच्च जोखिम

आजदेखि मनसुन पुनः सक्रिय, यी २७ जिल्लामा उच्च जोखिम


काठमाण्डु– आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । यस दिन सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।

असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिम जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ ।