काठमाडौं – बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुंदा ७ जनाको ज्यान गएको थियो ।
बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याइएको हो ।
मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ । शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ । मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने छ ।
प्रतिक्रिया