काठमाडौं – बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई बिहीबार टुँडिखेलमा ल्याई श्रद्धाञ्जली दिइने भएको छ।
मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जली दिइने भएको हो।
अहिले मृतक सबैको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा रहेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसमको प्रतिकूलताका कारण विमानस्थल ठप्प रहेको जानकारी दिए। उनले ताप्लेजुङमा हिमपात भइरहेको बताए।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।
प्रतिक्रिया