सडकमा फोहोर फाल्नेको घरमा बिल पठाउँछु : मन्त्री बस्नेत

सडकमा फोहोर फाल्नेको घरमा बिल पठाउँछु : मन्त्री बस्नेत


काठमाडौं – सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उदघाटन गरेका थिए।

उदघाटन कार्यक्रममा महराले हरेक नागरिक, टोल, इकाई, जिल्ला हुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए । उनले वातावरण स्वच्छ बनाउन हरेक नागरिकले आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिए । ‘सरसफाई आफैंबाट सुरु गरौं । एकएक इकाईबाट समूह बन्छ । सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर वातावरण स्वच्छ हुन्छ’, उनले भने ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो घरको आँगनमा फोहोर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिबाट मुक्त भएर घर, टोल तथा समाजलाई नै स्वच्छ बनाउन नागरिक आफैं सक्रिय भएर लाग्नुपर्ने बताए । उनले आफ्नो घर आफैं सफा गर्न आग्रह गर्दै घर वरिपरि सरसफाई नगर्ने र सडकमा फोहोर फाल्नेको घरमा सरकारले मानिस पठाउने र त्यसको भुक्तानीका लागि सम्बन्धित घरधनीकोमा बिल पठाइने चेतावनी दिए । मन्त्री बस्नेतले सरसफाई अभियान अब नरोकिने भन्दै त्यसमा कसैले अवरोध गरे कडा कराबाही गरिने स्पष्ट पारे ।