भैंसेपाटीमा मन्त्रीहरुलाई भव्य आवास बनाउने तयारी

भैंसेपाटीमा मन्त्रीहरुलाई भव्य आवास बनाउने तयारी


ललितपुर- सरकारले ललितपुरको पुलचोकस्थित मन्त्री निवास त्यहाँबाट भैंसेपाटी सार्ने भएको छ ।

मन्त्रिपरिषदको गत १७ मंसिरमा बसेको बैठकले राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, प्रदेश प्रमुख मुख्यमन्त्रीका लागि भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा सरकारी आवास निर्माण गर्ने निर्णय गरेको हो ।

यस्तै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षलाई पनि सोही स्थानमा बसोबासको व्यवस्था मिलाइने छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मन्त्रिपरिषद निर्णयबारे बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘सैंबु आवास क्षेत्रको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ’, उनले भने ।

उनका अनुसार हाल पुलचोकस्थित मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइने भएको छ । त्यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा राष्ट्रिय पुस्तकालय रहेको छेउको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।