मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : सञ्चारमन्त्री शर्मा

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : सञ्चारमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु –  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उहाँले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन् ।

मन्त्री शर्माले भनिन्, “देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ ।”

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिइन्।

काठमाण्डु उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताइन् ।

मन्त्रालयका काम–कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उहाँले नयाँ बन्ने कानुनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन् ।

मन्त्री शर्माले भनिन्, “राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानुनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ ।”

हुलाक सेवालाई पुनःसंरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानुन र नियममा टेकेरमात्र गर्ने स्पष्ट पारिन् ।