काठमाडौं – प्रतिनिधिसभा शुक्रबारको बैठकमा खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको भन्दै चाँडै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयबारे सांसदले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले आफू मन्त्रालयको जिम्मा लिन आएदेखि मेलम्चीको काम रफ्तारमा भएको र कामले ब्रेक थ्रु पनि लिएको दाबी गरिन्। त्यसक्रममा उनले बाँकी मेलम्चीको काम कोमार्फत गराउने भन्नेमा सरकार गृहकार्यमा रहेकाले त्यो प्रकृया पुर्याएर चाँडै निश्कर्षमा पुग्ने समेत बताइन् ।
काम अन्तिम चरणमा पुगेका बेला ठेकेदार कम्पनी सिएमसी जाँदा अप्ठ्यारो भएको तर चाँडै सबै प्रक्रिया पूरा गरेर मेलम्चीको काम पूरा गर्नमा मन्त्रालय लागि परेको उनले बताइन्। कांग्रेसकी सांसद डीला संग्रौलाले मेलम्ची सम्बन्धी प्रश्न मन्त्री मगरलाई गरेकी थिइन्।
सांसद संग्रौलाको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन, ‘गेट निर्माणको काम अन्तिम चरणमा पुगेका बेला गयो। सिएमसी आयो भने उसलाई नै पहिलो प्राथमिकता दिइने छ, किनकी सिएमसी आउँदा फेरि टेण्डर गर्नु पर्ने प्रक्रियाबाट छुटकारा मिल्छ । आएन भने रि–टेण्डर गर्ने छौँ ।’सिएमसीले काम छोडेर गएको सम्बन्धमा मिडियाले गलत रुपमा प्रचार गरेको र त्यो नियोजित रहेको मन्त्री मगरले आरोप लगाइन्।
मेलम्चीको काम जसरी पनि सम्पन्न गर्नका लागि सरकारले संयम भएर छलफल गरिरहेको उनले बताइन्। सांसदले मेलम्चीको पानी कहिले आउँछ भन्ने प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसी आएमा यही वर्ष पानी आउने बताइन्।
पुरक प्रश्न गर्दै सांसद संग्रौलाले जिम्मेवारीबाट हटाइएका सचिव गजेन्द्र ठाकुरले देश डुबाउन थाले भनेको प्रति सत्यतथ्य माग गरिन्। मन्त्री मगरले यसको खुलेर जवाफ दिइनन्। जवाफदेही सम्बन्धित व्यक्ति नै रहने बताइन्। मन्त्री मगरलाई गगन थापा, महेश बस्नेत, राजेन्द्र कुमार केसी, प्रेम सुवालले पनि प्रश्न गरेका थिए।
प्रतिक्रिया