बुधवार सांझसम्म मन्त्रीपरिषदले पूर्णता पांउछ : एमाले नेता ज्ञवाली

बुधवार सांझसम्म मन्त्रीपरिषदले पूर्णता पांउछ : एमाले नेता ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबार भोलिसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरे अनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए ।

नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताए ।

देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न सरकारले दत्तचित्त भएर काम गर्ने जानकारी दिंदै उनले भने, ‘यो सरकार १० देखि पांच कार्यालय आउने–जाने होइन, रिबन काट्ने, पूजा गर्ने काम गर्दैन, किनकि हामी अग्निपरीक्षामा छौं ।’ सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुंदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद् रहने चर्चा गर्दै उनले भने, ‘हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।’

एमाले र माओवादी केन्द्रबीचको एकता

सचिव ज्ञवालीले विसं २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न समयमा फुट्दै गएको स्मरण गर्दै एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक हुने र मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणादायी हुने बताए ।

एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘यसका लागि करिब तीन हप्ता लाग्न सक्छ, हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गरेर आगामी चैतसम्ममा एकता घोषणा हुन्छ ।’ एकता महाधिवेशनका लागि करिब डेढ वर्ष समय लाग्ने उनको भनाइ थियो ।

नेता ज्ञवालीले भने, ‘महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।’ एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी निर्माण गरिने नेता ज्ञवालीले जानकारी दिए ।