काठमाण्डु – प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यका लागि सात बुँदे सहमति भएको छ । दुई दलबीचको सहमतिमा संघीय संसद्को कार्याकालभर आधा-आधा सरकारको नेतृत्व बाड्ने पनि सहमति भएको छ ।
सहमति अनुरुप पहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर, माओवादी र अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।
बाँकी साना दलहरू भने ओली नेतृत्वको सरमारमा सहभागी हुन सकारात्मक देखिएका छन् । मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा अन्य दलहरूले नयाँ बन्ने गठबन्धनलाई सकारात्मक कदम भन्दै साथ दिन तयार रहेको बताएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ओलीको नेतृत्वमा बन्ने सरकारलाई सरकारलाई समर्थन गर्ने बताएका छन् । ‘राजनीतिक स्थिरताका लागि यो बीचमा काम हुन सकेन, अब तपाईंहरु मिलेर देशलाई स्थिरतातर्फ लैजानुहोस् भन्यौं’, ठाकुर र यादवले देउवासँग भनेको लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले भने । उनले ओलीको नेतृत्वमा बन्ने सरकारलाई आफूहरूले साथ दिने बताए ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशमा आफ्नो सरकारलाई सघाउन ठूला दुई ल तयार भए केन्द्रको सरकारलाई साथ दिने बताएको छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एमाले–कांग्रेसलाई साथ दिने बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग अशोक राईले साथ दिने बताएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि ओली–देउवा समीकरणलाई समर्थन गर्ने पार्टीका संरक्षक रेशम चौधरीले ओलीलाई फोन गरी यसको जानकारी दिएका एमाले नेतारूले बताएका छन् ।
राप्रपाले पनि नयाँ समीकरणलाई साथ दिने पार्टी बैठकबाटै निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हामी सरकारमा जान्छौं या जाँदैनौं भन्नेबारे म अहिले निर्णय नभई बताउन सक्दिनँ, तर स्थिरताका लागि गर्ने प्रयासमा हाम्रो साथ हुन्छ । नयाँ सरकारलाई समर्थन दिन्छौं ।’
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि नयाँ गठबन्धनसँग सकारात्मक छ । अध्यक्ष नेपाल कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा सहभागी भएका थिए । देउवाले नेपाललाई दुई मन्त्री लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
यो प्रारम्भिक अवस्थाले प्रतिनिधि सभाको तेस्रो दल माओवादी केन्द्र र चौथो दल रास्वपाबाहेक सबै दल अब बन्ने ओली नेतृत्वको सरकारको पक्षमा हुने देखिएको छ ।
प्रतिक्रिया