९ वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको अबको बाटो कता ?

९ वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको अबको बाटो कता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र ९ वर्षपछि प्रतिपक्षमा पुगेको छ । शुक्रबार संसद्मा प्रधानमन्त्री पुष्पकम दाहालले विश्वास मत नपाएसँगै माओवादी प्रतिपक्षमा पुगेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री दाहाललाई जम्मा ६३ सांसदले विश्वासको मत दिए भने, विपक्षमा १९४ मत खस्यो ।

यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल नेतृत्वको सरकार ढलेको छ । यससँगै अब संसद्मा दाहालसहित माओवादीका सांसदहरू प्रतिपक्षको बेन्चमा बस्नेछन् ।

सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादी ०६२ साल मंसिर ५ गते १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा आएको थियो । गणतन्त्रपछि अर्थात २०६४ मा भएको संविधानसभाको निर्वाचनमा पहिलो दल बनेको माओवादीले त्यसयता सबैभन्दा बढी सत्ताको स्वाद चाखेको छ । ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा सुरु गरेको थियो ।

गणतन्त्र स्थापनापछि नेपालमा १३ सरकार बने । १४ औं सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने तयारीमा छ । पछिल्ला १८ वर्षमा बनेका १३ सरकारमध्ये माओवादी १० सरकारमा सहभागी भयो ।

माओवादी ३ सरकारमा मात्र प्रतिपक्षी दलको रूपमा भुमिका निर्वाह ग¥यो । ०७० साल मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले लज्जास्पद हार ब्यहोरेपछि ०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो ।

त्यसबेला कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए । त्यसपछिका ९ वर्ष माओवादी प्रमुख प्रतिपक्षमा पुगेको थिएन । तर, ०८१ सम्म आइपुग्दा दाहालबाट पटक पटक धोका पाएका संसद्का दुई ठुला दल कांग्रेस र एमाले असार १७ गते मिल्न पुगे ।

एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री दाहालले शुक्रबार संसद्मा विश्वासको मत लिँदा विस्वासको मत पाएनन् । प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको छ ।

दाहाल नेतृत्वको सरकार ढलेसँगै अब माओवादी संसद्मा प्रतिपक्षमा बस्नेछ । ९ वर्षपछि प्रतिपक्षमा पुगेको माओवादी अब कसरी अगाडि बढ्छ ? भन्नेबारे यतिबेला आमनागरिकको चासोको विषय बनेको छ ।

माओवादी नेताहरू भने अब आफूहरू सरकार ढाल्ने खेलमा नलागी प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउँछन् । सरकार भत्काउने र बनाउने खेलबाट के प्राप्त भयो ? भन्नेबार पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने माओवादी नेताहरूको भनाइ छ ।

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता राम कार्कीले माओवादीले अब सरकार ढाल्ने बनाउने खेलबाट टाढा रहनुपर्ने बताए । ९ वर्षपछि माओवादी प्रतिपक्षमा पुगको छ । माओवादी अब कसरी अगाडि बढ्छ ? भन्ने काठमाण्डुपाटी डटकमको प्रश्नमा कार्कीले भने, ‘अब माओवादी सरकार भत्काउने र बनाउने खेलबाट आफ्नो पुरानो खेलमा फर्कनु पर्छ । पुरानो खेल भन्नाले आफूले उठाउने वर्ग । जसलाई उठाउन खोजेको हो, जसको सशक्तिकरणका लागि हामीले आन्दोलन गरेका थियौँ । हो त्यही खेलमा अब माओवादी लाग्नुपर्छ ।’

उनले सरकार बनाउने र ढाल्ने खेलबाट के प्राप्त भयो ? भनेर गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए । ‘हामीले सरकार भत्काउने र बनाउने खेलबाट के प्राप्त गर्‍यौँ ? भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्छ । हाम्रा जुन वर्ग छन्, जस्तै मजदुर, सुकुम्बासी, गरिब, किसान, ठेला चलाउनेलगायतका वर्गको लागि सरकारको खेलबाट हामीले के गर्न सक्यौँ ? यसबारे पार्टीभित्र लगत्तै छलफल हुन आवश्यक छ’, कार्कीले भने ।

माओवादीले जुन मुद्धा उठाएर आन्दोलन गरेको थियो । ती मुद्धाहरुलाई बिर्सेर तपाईँहरू सत्ताको मोहमा लाग्दा ०६४ मा पहिलो दल बनेको माओवादी ३२ सिटमा झरेको छ । अध्यक्ष दाहालले आफूलाई उथलपुथलको संज्ञासमेत दिएका छन् । फेरि पनि ०८४ यता माओवादी सरकारको खेलमा लाग्छ की लाग्दैँन ? भन्ने प्रश्नमा उनले भने, ‘हो ! मैले भन्न खोजेकै पनि त्यही हो । जुन मुद्धा लिएर हामी ०५२ साल फागुन १ गते आन्दोलनमा उत्रिएका थियौँ । अहिले ती मुद्धा कति पुरा गर्न सक्यौँ या सकेनौँ ? हाम्रा वर्गहरू माओवादी प्रति किन निराश भए ? भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्छ । अब ०८४ यता माओवादी सरकारको खेलमा लाग्नुहुँदैन । सरकार भत्काउने खेलमा भन्दा आफ्ना वर्गसँगको सम्बन्ध बलियो बनाउनेतर्फ लाग्नुपर्छ ।’

त्यस्तै माओमादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तिमगरले आफूहरूले अब संसद्मा प्रतिपक्षमा बस्ने बताइन् । पहिलादेखि माओवादीले संसद्मा जनताका मुद्धाहरूलाई उठाउदैँ आएको र अब पनि प्रतिपक्षमा बसेर सोही भुमिका निर्वाह गर्ने उनले दाबी गरिन् ।

‘अब माओवादी संसद्मा प्रतिपक्षको बेच्नमा बस्नेछ । पहिलादेखि हामीले जनताका मुद्धाहरूलाई उठाउदैँ आइरहेका छौँ । आगामी दिनमा पनि संसदमा जनताका मुद्धाहरूलाई बुलन्द रुपमा उठाउने छौँ । प्रतिपक्षीको भूमिका उल्लेखनीय हिसावले निभाउने छौँ । जनताका मुद्धाहरूलाई संसदमा उठाए् मात्र पुग्दैँन, सडकमा पनि उठाउनुपर्छ’, घर्तिमगरले काठमाण्डुपाटीसँग भनिन् ।