माओवादी केन्द्रले २०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने

माओवादी केन्द्रले २०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रंले २०८४ सालमा हुने तीन तहको निर्वाचनमा पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिने बताएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना लिएर अगाडि बढ्ने विषयमा निर्णय गर्ने बताए ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ ।’

१८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेकाले त्यसको फाइदा आगामी निर्वाचनमा लिनेगरि जारी पार्टीको बैठकले रणनीति बनाउने बताए ।

‘१८ महिना सरकारको नेतृत्व गर्‍यौं। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं। हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।