प्रचण्डले पनि मिलाउन सकेनन् सुदूरपश्चिममा माओवादीभित्रको विवाद

प्रचण्डले पनि मिलाउन सकेनन् सुदूरपश्चिममा माओवादीभित्रको विवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘समाचार मात्र लेखाउनुभन्दा प्रक्रियामा गएर फेस गरे कसो होला ! कुरीकुरी ?’

समाचार आएको विषयलाई होच्याउने गरी कुरीकुरी भनिएको विषय कुनै विपक्षी दलसँगको थिएन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान दलका नेता खगराज भट्टलाई पुनः दल नेता बनाउन निर्देशन दिएको भनेर आएको समाचारसँग सम्बन्धित थियो ।

दल नेता धामीले अध्यक्ष प्रचण्डले भट्टलाई दलको नेता बनाउन निर्देशन नदिएको, छलफलका क्रममा प्रस्ताव मात्रै गरेको जानकारी दिए ।

पछिल्लो पटक सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले माओवादीबाट मन्त्रीहरू नियुक्त गर्दा संसदीय दलभित्रको विवाद छताछुल्ल भएको थियो । मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै माओवादीका ५ सांसदले पत्र लेखेका थिए । पत्रमा थियो, ‘माओवादीको संसदीय दल र पार्टीमा छलफल नगरी संसदीय दलको नेताले आफूखुशी मन्त्रीहरूको नाम पेस गरेको भन्ने बुझ्नमा आएकोले सम्बन्धित दलको परामर्श बिना सिफारिस गरिएका नाममा हाम्रो गम्भीर आपत्ति रहेको व्यहोरा जानकारी गराउँदै मन्त्री नियुक्तिको प्रक्रिया अविलम्ब रोक्न अनुरोध समेत गर्दछौं ।’

ध्यानाकर्षण पत्रमा सांसदहरू खगराज भट्ट, झपटबहादुर साउद, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले हस्ताक्षर गरेका थिए ।

पाँच सांसदले ध्यानाकर्षण पत्र बुझाउँदा पनि नवनियुक्त मन्त्रीहरूको शपथ मुख्यमन्त्री सोडारीले रोकेनन् । संसदीय दलका नेता धामीले ओमविक्रम भाट ‘सरल’लाई सामाजिक विकासमन्त्री, लक्ष्मी विक र अक्कल रावललाई विना विभागीयमन्त्री बनाए ।

प्रचण्डको प्रयास विफल ?

दल नेताले ‘आफूखुशी मन्त्रीहरूको नाम पेस गरेको’ र मुख्यमन्त्रीले नियुक्ति प्रक्रिया नरोकेको अवस्थामा माओवादीभित्रको विवाद भुसको आगोझै भित्रभित्रै दन्किरहेको थियो । यस्तै बेला सुदूरपश्चिम प्रदेशका ११ सांसद तथा प्रदेश इन्चार्ज र सहइन्चार्जलाई काठमाण्डु बोलाएर मंगलबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले छलफल गरे पनि विवाद समाधान हुने अवस्था देखिएको छैन ।

असन्तुष्ट पक्षले सांसद खगराजलाई दल नेता बनाउनुपर्ने माग राखे पनि नेता धामी पक्ष सहजै दल नेता परिवर्तन गर्ने मूडमा छैन ।

सरकारी निवास बालुवाटारमा अध्यक्ष प्रचण्डले गरेको छलफलपछि भट्ट पक्षले उत्साहित हुँदै दल नेता परिवर्तन गर्न निर्देशन दिएको प्रचार गरेको छ । तर धामी पक्षले अध्यक्ष प्रचण्डबाट प्रस्ताव मात्रै आएको तर दल नेता वैधानिक प्रक्रियाबाट बहुमत पुर्‍याएर मात्रै परिवर्तन हुने अडान लिएको छ ।

सुदूरपश्चिम प्रदेश माओवादी दलमा १० सांसद छन् । माओवादीबाट निर्वाचित एक सांसद् सभामुख छन् । जसमध्ये ५ जना दल नेता धामीको पक्ष र ५ जना भट्टको पक्षमा रहेका बताइन्छ ।

धामी पक्षलाई सहइन्चार्ज विना मगर र सभामुख भीमबहादुर भण्डारीको सद्भाव रहेको बताइन्छ । यस्तो अवस्थामा सांसद भट्टले संसदीय दलमा बहुमत पुर्‍याउन नसक्ने धामी पक्षको जिकिर छ ।

छलफलमा अध्यक्ष प्रचण्डले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीलाई फिर्ता नबोलाउने गरी संसदीय दलको नेता भट्टलाई बनाउन सकिने कुरा गरेका थिए । तर यसलाई धामी पक्षले निर्देशन नभई प्रस्ताव भनेको छ । ‘हिजो छलफल भयो । अध्यक्ष कमरेडले मन्त्री यथावत् रहने गरी दलको नेता खगराजजीलाई बनाउँदा के हुन्छ भनेर प्रस्ताव राख्नुभयो,’ नेता धामीले भने, ‘छलफलमै मैले अध्यक्षको अपेक्षा स्वाभाविक हो । एउटा प्रक्रियाबाट म आएको हो, प्रक्रिया र विधि अपनाउँदा उत्तम हुन्छ भनेर भने ।’

दलको बैठकले नै नेता परिवर्तन गर्ने भएकाले नेता बन्न चाहनेहरूले विधानअनुसार जानुपर्ने उनले बताए । ‘खगराजजीले बहुमत जुटाउन सक्नुभयो भने म स्वीकार गर्न तयार छु । विधान प्रयोग गरेर प्रक्रियामा आयो भने हामी स्वीकार गर्छाैं । उहाँहरू ५ जना हुनुहुन्छ । हामी सभामुखसहित ६ जना छौं । बहुमत पुर्‍याएर उपनेतामार्फत बैठक आह्वान गर्ने भन्ने छ । बाहिर मिडियामा बर्बराएर काम छैन ।’

प्रक्रिया र बहुमत नपुर्‍याइ दल नेता परिवर्तन नहुने धामीले बताए । ‘मन्त्री टुंगिसक्यो, सरकार अगाडि बढिसक्यो । उहाँहरू अराजक ढंगले जानुभयो । उनीहरूलाई पनि मन्त्री बनाएकै हो । पालो सबैको आउँछ । त्यो कुरा बुझ्नुपर्‍यो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले गरेको छलफलपछि पनि नेता परिवर्तन नहुने देखिएको अवस्थामा माओवादीभित्रको असन्तुष्टि न वार, न पार हुने भएको छ ।