पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्षमा पुग्दै माओवादी केन्द्र

पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्षमा पुग्दै माओवादी केन्द्र


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्ष सुनाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राख्दै अध्यक्ष प्रचण्डले संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने बताए । उनले स्पष्ट नीति, योजना नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

कम्युनिष्ट वामपन्थीहरूलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरूसँग कुराकानी भइरहेको भन्दै उनले छिट्टै परिणाम निस्किने समेत धारणा राखेको सापकोटाले बताए ।

बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत १३ जना सदस्यहरूले धारणा राखेका थिए ।

बैठक आइतबार पुनः बस्ने सापकोटाले बताए । जनपरिचालन, संगठन निर्माण र विस्तार लगायतका एजेण्डमा केन्द्रित माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।