काठमाण्डु – नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि ८ लाख रुपैयाँ सहयोग गरेको छ ।
मञ्चले शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरेको हो ।
मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनका निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको छ ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मञ्चलाई धन्यवाद दिए । नेपालमा पटक–पटक आउने विपद्पछि उद्धार, राहत र पुनःस्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।
बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशव्यापीरूपमा उद्धार र पुनःस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरूले पनि योगदान गरेकोमा प्रशंसा गरेका छन् ।
उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपद् क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहत कोष स्थापना गरिएको, विज्ञहरूको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा विपक्षी दलहरूको तर्फबाट पनि तत्काल राहत र पुनःस्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरूले यसपटक दशैंतिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।
प्रतिक्रिया