मदन भण्डारी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने तयारीमा माओवादी

मदन भण्डारी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने तयारीमा माओवादी


काठमाण्डु – नेकपा माओवादी केन्द्रले मदन भण्डारी र हुलाकी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने तयारी थालेको छ ।

बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानबारे जानकारी गराउँदै पार्टी रूपान्तरणको बाटोमा जान जनताबीच जानुपर्ने निष्कर्ष सुनाएका पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

जनताको भावना, विचार र जनताले चाहेको अनि खोजेको कुरा बुझ्न अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने, ‘अब हामीले रूपान्तरण हुनुपर्छ । रूपान्तरण भएर जनताको बीचमा जानुपर्छ भनेर हाम्रो अध्यक्षले मुख्य २ वटा अभियान चलाउनुपर्छ भन्नुभएको छ । एउटा मदन भण्डारी लोकमार्गलाई आधार बनाएर बनाएर चलाउनुपर्छ, अर्को मधेशमा केन्द्रित गरेर हुलाकी राजमार्गलाई केन्द्रित बनाएर ६ महिना जनतामा जानुपर्छ । जनताले के चाहेका छन् ? के खोजेका छन् ? जनताले के विचार गर्दैछन् ? यी समग्र कुराको अध्ययन, जनताबाट सिक्ने, सिकाउने र रूपान्तरणको महान् प्रक्रियामा जानुपर्छ भनेर सिंगो पार्टी पंक्ति र जनतालाई अपिल गर्नुपर्छ । जनतालाई हामीले सुसूचित गर्न सक्यौं भने नेपाली जनतालाई समेट्न सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ ।’