काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्र र प्रदेशका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने र आम्दानीको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।
आईतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पः आजको आवश्यकता’ प्रतिवेदनमा पारदर्शिताको विषय उल्लेख छ ।
प्रतिवेदनमा सम्पत्ति विवरण पार्टीमा बुझाउने समयसीमा फागुन १ गतेसम्म प्रस्ताव गरिएको छ । प्रतिवेदनमा उल्लेख छ, ‘आगामी फागुन १ भित्र माओवादीका केन्द्रदेखि प्रदेश तहसम्मका सबै नेता–कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र बाँच्ने आयस्रोतको विवरण पेश गर्नुपर्नेछ ।’
प्रतिवेदनमा आगामी निर्वाचनमा माओवादीले कुनै दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न र एजेण्डामा एक्लै चुनाव लड्ने प्रस्ताव पनि गरिएको छ ।
नेताहरूको जीवनशैली बदलिएकोप्रति आमनागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया