माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई श्रम र उत्पादनमा जोड्न सक्छ ?

माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई श्रम र उत्पादनमा जोड्न सक्छ ?


काठमाण्डु – नेकपा एमालेसँगको गठबन्धन टुटेर सत्ताच्युत भएपछि बसिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा फेरि श्रम र उत्पादनको चर्चा सुरु भएको छ ।

सोमबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय अध्यक्षसहित नेताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने तर्क राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा सदस्यहरूले केन्द्रीय अध्यक्षलाई पनि श्रममा जोड्नुपर्ने बताएका छन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले पार्टीलाई श्रम र उत्पादनसँग जोड्न सबै पदाधिकारी सक्रिय हुनुपर्ने राय व्यक्त भएको बताए । माओवादी बैठकमा यसअघि पनि श्रम र उत्पादनको चर्चा हुने गरे पनि बैठक सकिएपछि अलपत्र पर्ने गरेको थियो । झन् माओवादी सरकारमा गएपछि त श्रम र उत्पादनको वैचारिक अवधारणा नै लुप्त हुने गरेको थियो ।

यसपालि अध्यक्ष नै श्रममा जोडिनुपर्ने राय प्रकट भएपछि अध्यक्ष प्रचण्ड श्रममा जोडिएलान् कि ? भविष्यले बताउनेछ । तर माओवादीले पार्टीको बैठकमा श्रम र उत्पादनलाई छलफलको विषय बनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । नेताहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर भएकाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको महाधिवेशनको मिति सहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांशले धारणा राखेका थिए ।

बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा दोस्रो दिन ८० जनाले धारणा राखेका छन् । बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।