विमान उडाउनुअघि मापसे गर्ने दुई पाइलट पक्राउ

विमान उडाउनुअघि मापसे गर्ने दुई पाइलट पक्राउ


बीबीसी – अमेरिकी वायुसेवा कम्पनी युनाइटेड एअरलाइन्सका दुई विमानचालक पक्राउ परेका छन् ।

स्कटल्यान्डको ग्लास्गोबाट न्यूयोर्क उडान गर्ने तयारी भइरहेको अवस्थामा मादक पदार्थ सेवन परीक्षणमा उत्तीर्ण हुन नसकेपछि उनीहरूलाई विमानस्थलबाट पक्राउ गरिएको हो । ४५ र ६१ वर्षीय विमानचालकहरूमाथि कुनैै अभियोग भने लगाइएको छैन ।

प्रहरी हिरासतमा रहेका उनीहरू मङ्गलवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

स्कटल्यान्ड प्रहरीले आफूहरूलाई अदालत बोलाइएको पुष्टि गरेको छ । यूए १६२ ले उडान गर्नुअघि त्यसका चालकहरू पक्राउ परेका हुन् ।

युनाइटेड एअरलाइन्सले एउटा विज्ञप्ति जारी गर्दै यात्रुहरू र चालकदलका सदस्यहरूको सुरक्षा सधैँ आफ्नो उच्च प्राथमिकतामा पर्ने उल्लेख गरेको छ ।

हामी हाम्रा सबै कर्मचारीहरूको उच्च मूल्याङ्कन गर्छौँ र हाम्रो नीति मदिरासेवनप्रति पूर्ण रूपमा असहनशील छ, युनाइटेड एअरलाइन्सले भनेको छ ।

उक्त कम्पनीले विमानचालकहरूलाई तत्काल सेवाबाट निष्काशन गरिएको र आफूहरूले स्थानीय निकायहरूलाई पूर्ण रूपमा सहयोग गरेको बताएको छ । हामी अहिले चाँडो भन्दा चाँडो यात्रुहरूलाई गन्तव्यमा पुर्याउने हिसाबले काम गरिरहेका छौँ, विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ मा पनि युनाइटिड एअरलाइन्सकै दुई विमानचालकलाई मदिरा सेवन गरेको आरोपमा ग्लास्गो विमानस्थलबाटै नियन्त्रणमा लिई जेल चलान गरिएको थियो ।

त्यतिखेर ३५ वर्षीय पल ग्रेबेन्सलाई १० महिना जेल सजाय सुनाइएको थियो भने उनका सहकर्मी ४५ वर्षीय कार्लोस अक्टोबर लीकोनालाई १५ महिना सजाय तोकिएको थियो ।