अन्तर्राष्ट्रिय क्रिकेटबाट गुप्तिलले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट गुप्तिलले लिए सन्यास


काठमाण्डु-न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी–२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन् ।

३८ वर्षीय गुप्तिल अहिले न्युजिल्यान्डको टी–२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन् । पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ ।

१९८ एक दिवसीय खेलेका उनले सो क्रममा ४३ सय ४६ रन प्रहार गरेका छन् । उनले भन्दा बढी रोज टेलरले आठ हजार ६०७ तथा स्टेफन फ्लेमिङले आठ हजार ७ रन प्रहार गरेका छन् ।

टी–२० मा उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन् । उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन् । उनी पछिल्लो समय नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आएका थिए । उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए ।

सन् २००९ देखि २०१६ सम्म उनी टेस्ट टोलीमा थिए । उनी सीमित ओभरको खेलमा झैँ टेस्टमा सफल भएनन् । उनले ४७ टेस्टमा २५ सय ८६ रन प्रहार गरे ।

सन् २००९ मा एक दिवसीय खेलको डेब्यु मै उनले वेस्ट इन्डिजको विरुद्धमा १३५ बलमा अविजित १२२ रन प्रहार गरेका थिए ।

सन् २०१५ मा विश्वकप क्वार्टर फाइनलमा नै घरेलु भूमिमा उनले सोही टोलीको विरुद्धमा अविजित २३७ रन प्रहार गरेका थिए । सो क्रममा उनले १६३ बलको सामना गरेका थिए । न्युजिल्यान्ड उपविजेता बनेको सो विश्वकपमा उनले सबै भन्दा धेरै रन प्रहार गरेका थिए । उनले कुल ५४७ रन प्रहार गरेका थिए । त्यसको चार वर्ष पछिको विश्वकपमा पनि उनी चर्चाका रहे ।